२५ असार काठमाडौँ । युरो २०२४ को पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्सबीच भिडन्त हुँदैछ । खेल नेपाली समय अनुसार राति १२ : ४५ बजे म्युनिखस्थित म्युनिख फुटबल एरेनामा हुनेछ ।स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनीलाई हराएर आएकोले उच्च मनोबलमा सेमिफाइनल खेल्दैछ ।
मिकेल मेरिनोले अतिरिक्त समयको पनि अन्तिममा निर्णायक गोल गरेपछि स्पेनले जर्मनीलाई २/१ ले पराजित गरेको थियो ।उता फ्रान्सले क्वाटरफाइनलमा पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५/३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो ।दुई पूर्वविजेता बीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।दुई टोलीको तुलना गर्दा स्पेनले जारी युरोमा अहिलेसम्म ११ गोल गरिसकेको छ भने जम्मा दुई गोल मात्र बेहोरेको छ ।उता फ्रान्स गोल गर्न नै संघर्षरत छ । फ्रान्सले अहिलेसम्म गरेको दुई गोलमा एउटा पेनाल्टीबाट सम्भव भएको थियो भने अर्को आत्मघाती गोल उपहार पाएको थियो ।
स्पेन १२ वर्षपछि युरो फाइनलमा पुग्ने लक्ष्यमा छ भने फ्रान्स पछिल्लो ८ वर्षमा चौथो पटक मुख्य प्रतियोगिताको फाइनल पुग्ने लक्ष्यमा छ । फ्रान्सले सन् २०१८ मा फिफा विश्वकपको उपाधि जितेको थियो भने २०१६ मा युरो फाइनल र २०२२ मा विश्वकप फाइनल खेलेको थियो । स्पेनले सन् २०१२ को युरो क्वाटरफाइनलमा स्पेनले फ्रान्सलाई पराजित गरेको थियो ।स्पेन र फ्रान्स दुवै छैटौं पटक युरो सेमिफाइनल खेल्दैछन् ।
संयोग के छ भने भने यी दुई टोलीबीच नकआउट खेल जसले जित्छ त्यही टिमले नै अन्तिममा गएर उपाधि जितेको इतिहास छ ।समग्रमा यी दुई टोलीबीच अहिलेसम्म ३६ खेल भएको छ । जसमा स्पेनले १६ र फ्रान्सले १३ खेल जितेका छन् भने ७ खेल बराबरीमा सकिएको छ । यसमा स्पेनले ६४ गोल गर्दा फ्रान्सले ३९ गोल गरेको छ ।