२९ साउन बागलुङ । बागलुङको बडिगाड गाउँपालिकावडा न ९ र १० मा पहिरोमा परि ज्यान गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत उपलब्ध गराएको छ ।
प्रदेश र सङ्घीय सरकारले बनाएको कार्यविधि अनुसार ज्यान गुमाएका प्रति परिवार नगद रु दुई लाखका दरले राहत रकम उपलब्ध गराएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । पहिरोमा परि ज्यान गुमाएका ११ जनाको परिवारलाई प्रशासनले घटनास्थलमै पुगेर राहत उपलब्ध गराएको हो ।
बडिगाड गाउँपालिका–१० आरुपाटाका जोगबहादुर बुढाको घरमाथिबाट खसेको पहिरोले नौ जनाको ज्यान लिएको थियो ।पहिरोमा परेका एक बालक अझै बेपत्ता छन् ।
पहिरोमा पुरिएर १० जना घाइते भएका थिए । गम्भीर घाइते १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।