६ कात्तिक काठमाडौँ । पर्वत जिल्लाका विभिन्न क्षेत्रमा हालै परेको असिनापानीका कारण पाक्ने बेलाको धान खेतीमा ठूलो क्षती पुराएको छ । कतिपय स्थानमा किसानले काटेर खेतमै सुकाएको धानमा क्षति पुगेको छ । कुश्मा र फलेवास नगरपालिका, जलजला, मोदी र महाशिला गाउँपालिकाका विभिन्न ठाउँमा असिनापानीले क्षति पुर्याएको हो।
कुश्मा–१० पिपलटारीका किसान दीपक सुवेदीले पाकेर काट्ने बेलाको धान असिनाले नष्ट गरिदिएको गुनासो गरे।उनकाअनुसार केही दिनमा काट्ने तयारी भएको धानमा क्षति पुगेको हो। एक घण्टासम्म परेको असिनापानीले झण्डै ४० प्रतिशत धान झारेको उनको भनाइ छ। सुवेदीका अनुसार जुकेखोला, चिन्नेखोला, अधिकारीफाँट, मल्याङ्दी, सालघारी, अर्गसेलगायत फाँटमा ठूलो नोक्सानी पुगेको छ।
महाशिला–५ की किसान सरस्वती अधिकारीले काटेर सुकाएको धान एक्कासी परेको असिनापानीले झारेर नष्ट गरिदिएको बताए। मौसमविद्ले मनसुन सकिएको र मौसम सफा रहने बताएपछि धान खाटेर सुकाएका किसान असिनाले क्षति पुर्याएपछि निराश बनेको उनको गुनासो छ।
पर्वतका गत वर्ष पनि यही समयमा परेको असिनाले धानबालीमा नोक्सान पुर्याएको थियो। यस वर्ष समयमै मनसुन सुरू भएकाले समयमै रोपाइँ गरेका कारण धान उत्पादनसमेत बढ्न अनुमान गरिएको भए पनि असिनापानीले क्षति पुर्याएको कृषि ज्ञान केन्द्रले जनाएको छ।कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले जिल्लाका अधिकांश क्षेत्रमा असिनापानीले क्षति पुर्याएको छ।अहिले स्थानीय तहहरूले तथ्याङ्क सङ्कलनको काम गरिरहेकाले केही दिनमा क्षतिको यकिन तथ्यांक आइपुग्ने बताए।