२१ कात्तिक काठमाडौँ । भरतपुर महानगरपालिका–१ स्थित योगी नरहरिनाथ गौँ संरक्षण केन्द्रमा स्थानीय जातका गाईको संरक्षण गर्न रु एक करोड एक लाखको अक्षयकोष स्थापना भएको छ । केन्द्रका संयोजक नवराज ढकालका अनुसार २०३९ सालदेखि केन्द्रमा गाई संरक्षण थालिएको हो ।
योगी नरहरिननाथबाट गौँ संरक्षण सुरु भएको भन्दै उहाँले त्यसलाई निरन्तरता दिइएको बताउनुभयो ।अक्षयकोषका लागि रु ११ हजार एक सयको आजीवन सदस्य र रु एक लाख एक हजारको संरक्षक सदस्य बनाइएको छ । पैतालिस जना संरक्षक सदस्य र तीन सय २५ जना आजीवन सदस्य छन् । विसं २०७४ बाट कोष स्थापना गरी रकम सङ्कलन गर्न थालिएको हो ।
कोषमा रु १० करोड जम्मा गर्ने लक्ष्य छ । यो तिहारमा रु १८ लाखभन्दा बढी सङ्कलन भएको उहाँले बताउनुभयो ।गौँ संरक्षण केन्द्रले दुई सय ५० भन्दा बढी स्थानीय जातका गाई पालेको छ । ती गाई पाल्न कोष स्थापना गरिएको हो । केन्द्रका पूर्वसंयोजक टङ्कनाथ पौडेलले दीर्घकालसम्म गाईको संरक्षण गर्न सकियोस् भनेर कोषको अवधारणा ल्याइएको बताउनुभयो । दाताले पराल, चोकरलगायत सहयोग गर्दै आएका छन् ।