२३ कात्तिक काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि पाँच महिना सम्म दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर काम सुरुवात गरिएको हो ।
प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्ने छ । स्तरोन्नतिका क्रममा राति १०:०० बजे देखि बिहान ८:०० बजेसम्मका सबै उडान कटौती हुनेछन् ।
हाल विमानस्थल बिहान ६:०० बजे खुलेर राति २:०० बजेसम्म सञ्चालन हुँदै आएको थियो ।विसं २०७७ मा सो विमानस्थलको धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो । त्यतिबेला पनि बेलुका ६ः०० देखि बिहान ६ः०० बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो ।
तत्कालीन समयमा विमानस्थलको धावनमार्गको दक्षिणतर्फ कोटेश्वर क्षेत्र रनवे जिरो–टु विस्तार भएको थियो ।वि सं २०७५ मा दैनिक १० घण्टा विमानस्थल बन्द गरेर झण्डै चार महिना अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्ण रूपमा मर्मत (कालोपत्र) गरिएको थियो ।