२५ कात्तिक काठमाडौँ । नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा गोरखाको पालुङटार नगरपालिका–९ मिरकोटका प्राध्यापक डाक्टर मोदनाथ मरहठ्ठा नियुक्त भएका छन् । काठमाडौं विश्वविद्यालयले प्राडा मरहठ्ठालाई आगामी तीन वर्षका लागि प्रिन्सिपलमा नियुक्त गरेको हो ।
विगत तीन वर्षदेखि कलेजको अस्पताल निर्देशकको भूमिकामा रहेका डा। मरहठ्ठालाई शुक्रबार कलेजका अध्यक्ष प्राडा जैनुद्धिन अन्सारीले प्रिन्सिपल पदमा पदस्थापन गराए ।कलेजमा आयोजित कार्यक्रममा अध्यक्ष प्राडा अन्सारीले नवनियुक्त प्रिन्सिपललाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल मेडिकल कलेजको शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा डा मरहठ्ठाले महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।
कलेजका अस्पताल निर्देशकका रूपमा रहेर काम गर्दा हासिल गरेको अनुभव र सिकाइलाई प्रिन्सिपलको भूमिकामा काम गर्दा उपयोग गर्दै अधिकतम कलेजको हित र श्रीवृद्धिका लागि आफू लागिपर्ने उनको प्रतिबद्धता छ ।
त्रिवि शिक्षण अस्पतालको एनेस्थेसिया विभागको प्रमुख भएर काम गरिसकेका डा मरहठ्ठासँग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनसमेत भएर काम गरेको अनुभव छ ।कलेज व्यवस्थापनले प्रिन्सिपल पदका लागि तीनजनाको नाम विश्वविद्यालयलाई सिफारिस गरेकोमा विश्वविद्यालयले प्राडा मरहठ्ठालाई प्रिन्सिपल नियुक्त गरेको हो ।