२६ कात्तिक काठमाडौँ । नक्कली कागजात बनाएर तीनजनालाई जापान लगेको कसुरमा पक्राउ परेका कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतबाट म्याद थप गरिएको छ ।
उक्त कसुरमा अनुसन्धानका निम्ति आइतबारै दिउँसो अधिकारीलाई काठमाडौं ल्याई अदालतबाट दुई दिनको म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । अधिकारीलाई विराटनगरमा पक्राउ गरिएको हो । काठमाडौं ल्याएर अदालतबाट दुई दिनको म्याद भएको छ ।
यही कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका दावा शेर्पा र जनक राई तथा रसुवाका कञ्चन देवकोटा ‘डिपोर्ट’ भएको प्रहरीले जनाएको छ ।
नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले त्यहाँ जान प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको आरोप छ । त्यसैको आधारमा उनी पक्राउ परेका थिए ।