२९ कात्तिक काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल–नारायणगढ सडकको ठेक्का तोड्नुको विकल्प सरकारसँग नभएको बताएका छन् ।प्रधानमन्त्री ओलीले बिहीवार नारायणगढ–बुटवल सडकखण्ड क्षेत्रमा पर्ने जिल्लाका जनप्रतिनिधिहरुले निर्माण कार्यमा लापरवाही भएको विषयको ध्यानाकर्षण पत्र बुझ्दै यस्तो बताएका हुन ।
रुपन्देही, पश्चिम नवलपरासी र पूर्वी नवलपरासीका जनप्रतिनिधिहरुले प्रधानमन्त्री ओलीसँग भेटमा ध्यानाकर्षण गराएका हुन् ।ध्यानाकर्षणपछि बोल्दै प्रधानमन्त्री ओलीले बुटवल–नारायणगढ सडक चार वर्षमा सक्नुपर्ने काम ६ वर्षसम्म लाग्दा पनि नसकिएको र अहिले काम ठप्प हुनु राम्रो नभएको बताए । उनले ६ वर्षसम्म ५२ प्रतिशत काम बल्ल भएको बताए ।उनले सरकारले थप गरेको म्याद पनि एक वर्षमा सकिन लागेको भन्दै ५२ प्रतिशत काम ६ वर्षमा भयो भने अब ४८ प्रतिशत काम बाँकी एक वर्षभित्र सम्पन्न गर्न सम्भव नभएको बताए ।
उनले सडक ठेक्का पाएको कम्पनीले तिब्र रुपमा काम गर्ने हो भने काम अगाडि बढाउनुपर्ने बताए । उनले एडिबीले २०२६ मा दिने रकम क्लोजिङ हुने अवस्था रहेको बताए ।प्रधानमन्त्री ओलीले उक्त सडक निर्माणको विषयमा सरकारले गम्भिर निर्णय गर्नुपर्ने अवस्था रहेको बताए । उनले ४४ प्रतिशत सरकारको तर्फबाट भुक्तानी भएको र ५६ प्रतिशत भुक्तानी बाँकी रहेको बताए ।
उनले निर्माणको अहिलेको गतिमा काम अलपत्र छोड्ने हो भने सरकारले भुक्तानी दिन नसक्ने संकेत गरे । उनले सरकारसँग भएको सम्झौताअनुसार निर्माण कम्पनीले काम गर्न नसक्ने भए ठेक्का तोड्नुको विकल्प नभएको बताए ।प्रधानमन्त्री ओलीले डिसेम्बरसम्म निर्माण ठेक्का कम्पनीले मागेको समय दिएर त्यसपछि निर्णायक ढङ्गले कदम चाल्न सम्बन्धित निकायलाई निर्देशन दिए ।