७ मंसिर काठमडौँ । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पाँच शैयाको आधारभूत अस्पताल निर्माणसंगै उद्घाटन भएको छ । नेपाल सरकारको योजनामा धार्चेले वडा न ३ खोर्लावेशीमा अस्पताल निर्माण गरेको हो ।स्वीजरल्याण्डको ‘अर्थ सी एयर’ नामक संस्था र पालिकाको साझेदारीमा अस्पताल भवन निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनारले बताए । यस भवन दुई करोड २८ लाख खर्चमा बन्नेको भवनमा सी एयर संस्थाको ६० प्रतिशत र पालिकाको ४० प्रतिशत लागत निर्माण भएको थियो । अहिले बन्नेको अस्पतालमा पाँच वटा ब्लक रहेको छ ।

अस्पताल निर्माणका लागि २०७६ साल असोज १२ गते छाया नेपाल र पालिकाबीच सम्झौता भएको थियो । पालिकाका अनुसार भवन निर्माण कार्य गतबर्ष सम्पन्न भएको हो । ‘भवन बनेपनि अस्पतालका लागि आवश्यक उपकरण खरिद र जडान गर्ने काम बाँकी थियो, त्यो काम यो बर्ष सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत सुनारले बताउनु भयो । वुधवार एक कार्यक्रमकाबीच गण्डकी प्रदेश सांसद शुशिला सिंखडा र पालिका अध्यक्ष लक्ष्मण गुरुङले संयुक्त रुपमा अस्पतालको उद्घाटन गरिएको हो ।

सो अस्पतालमा २४ घण्टा इमरजेन्सी सेवा, सामान्य चिकित्सा सेवा, ओपिडी सेवा, प्रसुति सेवा, ल्याव सेवा, भ्याक्सिनेशन सेवा, दन्त सेवा, इसिजी, एक्स–रे, भिडियो एक्स–रे, फार्मेसी सेवा उपलब्ध हुने बताइएको छ । पोष्टमार्टम र शव परीक्षण सेवाहरू पनि उपलब्ध हुने पालिकाले जनाएको छ ।पालिकाका अनुसार अस्पतालको जनशक्तिको रुपमा हाल दुई जना मेडिकल अफिसर, तीन जना स्टाफ नर्स, तीन जना हेल्थ असिस्टेन्ट, एक जना रेडियोग्राफर, एक जना फार्मेसी एसिस्टेन्ट, एक जना ल्याव टेक्निसियन, एक जना डेन्टल हाइजिनिक र चार जना कार्यालय सहयोगी रहेका छन् ।
त्यस पालिकामा निर्माण भएको अस्पतालले अब आउने दिनहरुमा आरुघाट वा गोरखा बजार जानुपर्ने बाध्यताबाट त्यहाँका नगरिकलाई सुविधा भएको छ । उद्घाटन समारोहमा अस्पताल निर्माणमा महत्वपूर्ण योगदान दिने अर्थ सी एयरका दाताहरु, छायाँ नेपाल लगायतलाई सम्मान गरिएको थियो ।