११ मंसिर काठमडौँ । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी प्रहरी हिरासतबाट हिजो साझा रिहा भएका छन् । उनी जापान भ्रमणका कारण पक्राउ परेका अधिकारी १६ दिनको हिरासतपछि रिहा भएका हुन् ।
उनलाई पत्नी पृथ्वी बस्नेतको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।सरकारी वकिल कार्यालय काठमाडौँले उनी विरुद्ध मुद्दा नचलाउने निर्णय भएको पत्र प्रहरी परिसरमा पठाएपछि सोमबार साँझै रिहा भएका हुन् । सरकारी वकिल कार्यालयका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालले अधिकारी विरुद्ध मुद्दा नचलाउने निर्णय भएको बताए ।
मन्त्री अधिकारी प्रक्रिया नपुर्याई जापान उडेपछि जापान काण्डमा मुछिएका थिए । जापान भ्रमणमा असम्बन्धित व्यक्तिहरूलाई आफूसँगै जापान पुर्याउन सघाएर मानव तस्करी गरेको तथा जापान पुगेका व्यक्तिहरूले किर्ते कागजात तयार पारेको कसुरमा प्रहरीले अनुसन्धान गरेको थियो ।अधिकारीलाई कात्तिक २५ गते विराटनगरस्थित डेराबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । अधिकारीसहित चार जना कात्तिक ११ गते गएका थिए ।