११ मंसिर काठमाडौँ । दृष्टिविहीन टी २० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई पराजित गर्दै लगातार दोस्रो जित दर्ता गराएको छ।पाकिस्तानको लाहोरमा आज भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो।
यसअघि सोमबार भएको खेलमा नेपालले अफगानिस्तानलाई एक सय आठ रनले पराजित गरेको थियो। नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै एक सय ८७ रन मात्र बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि ओपनर बुहले भिडलाले आठ चौकासहित एक सय रनको योगदान दिए। लेसिबा एफ्राइम माथापो ४६ र एडरिक तेर हारले ६ रन, लेसेडी लेसुफी ११ रन बनाए। यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ९८ रनको योगफल बनाएको थियो। नेपालका ओपनर नरेश चौधरीले सर्वाधिक ८० रन,सागर लामा ४०, पदम बडैला ३४ र भरत थापा ११ रनमा आउट हुँदा सुनिल मगर एक रनमा बनाएका थिए ।