१६ मंसिर काठमाडौँ । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा कामदारहरुमाथि माटोको ढिस्को खस्दा ५ जनाको मृत्यु भएको छ । यस घटनामा परि मृत्यु हुनेमा ६६ वर्षीय देविराम परियार, ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार, २७ वर्षीया आईती परियारको मृत्यु भएको प्रहरीले बताए ।
मृतक पाँचै जना सुनछहरी गाउँपालिका वडानम्बर ३ बाहिरीका हुन् ।मौलाबाङ र बाहिरी गाउँ जोड्ने झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्को खसेर पुरिएर मृत्यु भएको हो । दुई जना भने भागेर ज्यान जोगाउन सफल भएका थिए ।
स्थानियको जानकारी अनुसार प्रहरीलाई खबर गरि इलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी निरीक्षक अरुण तामाङको कमाण्डमा ७ जना र प्रहरी चौकी गाउँबाट प्रहरी सहायक निरीक्षक प्रकाश विष्टको कमाण्डमा ५ जनाको टोली उद्धारमा खटिएको हुन् ।