१६ मंसिर काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तरगत आइतबार सम्पन्न मतदानको मतगणना सुरु भएको छ । गोरखा नगरपालिका वडा नम्बर–५, कालीकोटको तिलागुफा नगरपलिका–४, जाजरकोटको कुशे गाउँपालिका ७ सहितका विभिन्न स्थानमा मतगणना सुरु भएको छ ।
जसअनुसार तिलागुफा नगरपालिका–४ मा मनगणना सकिएर नेमकिपाका उम्मेदवार विजयी भइसकेका छन् ।स्थानीय तह उपनिर्वाचन निर्देशिका,२०८१ र मतगणनासम्बन्धी आयोगबाट भएको निर्देशन बमोजिम तत्काल मतगणना प्रारम्भ गर्न निर्देशन दिइएको प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।
उनका अनुसार आइतबार स्थानीय तह उपनिर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको छ। उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा २ लाख २६ हजार ७९९ मतदाता रहेकोमा हालसम्मको प्राप्त विवरण अनुसार करिब ६२ प्रतिशत मतदान भएकोे छ ।
आजको उपनिर्वाचन नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष चार जना तथा वडा अध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि आइतबार मतदान भएको हो । उपनिर्वाचनमा राजनीतिक दलका २७४ जना र स्वतन्त्र १०२ जना गरी जम्मा ३७६ जना उम्मेदवार रहेको आयोगले जनाएको छ ।