१९ मंसिर काठमाडौँ । गोरखा नगरपालिकाको गोरखा बसपार्कदेखि बिसौनी मोडसम्मको फुटपाथ व्यवस्थापका लागि घर अगाडिको सेफ्टी ट्याङ्की लगायत संरचना हटाउन गोरखा नगरपालिकाले आग्रह गरेको छ ।
सडकको दुवैतर्फ नाला, सडक र फुटपाथ बन्ने भएकाले घर अगाडीका संरचनाहरु व्यवस्थापन गर्न गोनपाले सूचना जारी गरी आग्रह गरेको हो ।फुटपाथ व्यवस्थापका लागि यसअघि स्थानीयहरुसँग गरिएको छलफलमा स्थानीयहरु आफैले घर अगाडिको सेफ्टीट््याङ्की लगायत संरचना हटाउने सहमति गरेका थिए ।
सोही सहमति अनुसार पुस १८ गतेसम्ममा संरचनाहरु हटाउन नगरपालिकाले एक सूचना जारी गर्दै आग्रह गरेको छ ।गोनपाले सडक डिभिजन कार्यालय दमौलीसँग गोरखा बजारको बसपार्कदेखि खोलखोलेसम्म व्यवस्थित फुटपाथ सहितको सडक चौडा पार्ने काम संचालनका लागि सहमति गरेको छ ।
बहुबर्षीय योजनामा समावेश गराउँदै नगरपालिकाले उक्त कामका लागि यो बर्ष ८० लाख रकम विनियोजन गरेको छ ।उक्त योजना सम्पन्न गर्न करिव १४ करोड लाग्ने नगरपालिकाले जनाएको छ ।