२४ मंसिर काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिकाले नयाँ प्रकाशन गरेको ‘अजिरकोट सेरोफेरो’ पाठ्यपुस्तकमा समेटिएको जनयुद्ध सम्बन्धी पाठ्यसामग्री हटाउन नेपाल बिद्यार्थी संघ गोरखाले ४८ घण्टाको अल्टिमेटम दिएको छ । उनीहरुले शनिवार प्रेस बिज्ञप्ती जारी गर्दै नेविसंघले ४८ घण्टाभित्र बिद्यार्थीहरुको हातबाट पाठयपुस्तक फिर्ता गर्न पालिकालाई अनुरोध गरेको छ । अनुरोधलाई वेवास्ता गरे पालिकाभित्रका सबै बिद्यालयको पठनपाठन बन्द गरी आन्दोलनका थप कार्यक्रम अगाडी बढाउने नेविसंघले चेतावनी दिएको छ ।
नेपालको संविधानले निर्दिष्ट गरेको शसस्त्र द्वन्द्वलाई जनयुद्धको नाम दिदैँ असंवैधानिक पाठ्यवस्तुहरु समावेश गरेको भन्दै तत्काल हटाउन नेविसंघले बिज्ञप्तीमार्फत माग गरेको हो ।बिज्ञप्तीमा भनिएको छ, ‘हाम्रो संविधानले कुनै पनि स्थानीय सरकारलाई एउटा पार्टी बिशेषको घोषणा पत्र पढाउने अनुमति नदिएको लेखिएको छ ।

बिरोध स्वरुप नेविसंघले शनिवार रुम टु रिड नामक गैरसरकारी संस्थाको कार्यालयमा ताला समेत लगाएको छ । उक्त संस्थाकै प्राविधिक सहयोग र संस्थाका सिनियर प्रोग्राम अफिसर समेत रहेका एल वी खड्का, संस्थाका कर्मचारी अनन्त वाग्ले र राजन सापकोटाले उक्त पाठ्यपुस्तक सम्पादन गरेकाले उक्त संस्थामा तालावन्दी गरिएको नेविसंघ जिल्ला सभापति शिवहरि तिमल्सिनाले बताए ।
पालिकाले तयार गरेको कक्षा ५ को पुस्तकको अन्तिम पाठमा जनवादी राज्यसत्ता स्थापनाका लागि माओवादी पार्टीले २०५२ सालदेखि जनयुद्ध सुरु गरेको, जनयुद्धको प्रथम सहिद दिलबहादुर रम्तेल भएको, जनयुद्धको सिलसिलामा १७ हजार भन्दा धेरैले सहादत प्राप्त गरेको लगायतका विषयबस्तु समाविष्ट छन् ।