२१ पुस काठमाडौँ । कुश्मा नगरपालिका(१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ । पीपलटारीस्थित तल्लो रोहोटेका ध्रुव रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा छिमेकी ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो ।
मृतक पौडेल चिया पिउन र दूध लिन रेग्मीको घरमा गएकी थिइन् । घरधनी ५२ वर्षीय रेग्मी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।
उनका अनुसार घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको छ । आगलागीलगत्तै सदरमुकाम कुश्माबाट पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।