१४ माघ काठमाडौँ । गोरखा गोरखा नगरपालिकाको गोरखा अस्पतालमा दुई दिने निःशुल्क मुटु जाँच शिविर सञ्चालन हुने भएको छ । उक्त आयोजना रोटरी क्लब अफ गोरखाले यही माघ २५ र २६ गते निःशुल्क जाँच शिविर हुने भएको हो ।
क्लबले हिजो पत्रकार सम्मेलन गर्दै २ दिनको लागि निःशुल्क जाँच शिविर राखिएकोले सबैलाई जाँच गराउन अनुरोध समेत गरेको छ । पत्रकार सम्मेलनमा यस शिविरबाट जाँच पछी शल्यक्रिया गर्नुपरेको खण्डमासमेत निःशुल्क शल्यक्रिया गर्ने ब्यवस्था गरिएको शिविरका संयोजक किशोरजंङ थापाले जानकारी दिनुभयो ।
उहाँले यो शिविरबाट स्कुले बच्चाहरुमा त्यस्ता समस्या भएको पाइएमा र नेपालमा उपचार संभव नभएका खण्डमा भारतमा लगेर पनि निःशुल्क उपचार गराएर ल्याउने क्लबको ब्यवस्था मिलाएको बताउनुभयो ।भारतमा उपचारको लागि जादा भने बिरामी र बिरामीका १ जनालाई समेत जाने र आउने निःशुल्क ब्यवस्था मिलाईएको संयोजक थापाले जानकारी दिनुभयो ।
रोटरी क्बल अफ गोरखाको आयोजना हुने शिविर सञ्चालनका लागि यसपटक सम्भव नेपाल नामक संस्थाले पनि आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । यो शिविरमा विगतका बर्षहरुमा जाँच गराएको औषधी खाएका तथा पुनः चेक जाँच गराउनु पर्नेहरु तथा मुटु जाँच गराउन चाहनेहरुले शिविरबाट फाइदा लिन सक्ने संयोजक थापाले बताउनुभयो । बिरामी जाँचपछि औषधी र चिकित्सकको ब्यवस्था सेभ द हर्टले गर्नेछ ।