१४ माघ काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्मित सहिद धनरुपा स्मृति पार्कको आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ ।लालिगुराँस नगरपालिका–७ र ९ को सङ्गमस्थलमा रहेको लसुने बजारमा निर्माण गरिएको पार्कको उद्घाटन गर्नु भएको हो ।
उक्त कार्यक्रमलाई सम्बोध गर्दै अध्यक्ष प्रचण्डले मुलुकको प्रगति र परिवर्तनका लागि आफ्नो जीवन अर्पण गर्ने सहिदहरु अमर हुन्छन्, समाजको उत्थानको निम्ति, जनताको हकअधिकारको निम्ति बलिदान दिने सहिदहरु कुनै पार्टी विशेषको मात्र नभइ आम जनताका सम्मानका पात्र हुुनुहुन्छ भनु भयो । दस वर्षसम्म नेपाली आमाबाबुका सन्तानले युद्ध लडेको र बलिदान दिएको स्मरण गर्दै अध्यक्ष दाहालले त्यसको नेतृत्व गर्ने आफूले अवसर पाएको बताउनुभयो ।
धनरुपा स्मृति प्रतिष्ठानले आयोजना गरेको पार्क उद्घाटन कार्यक्रममा तत्कालीन समयमा माओवादीले गरेको सशस्त्र विद्रोहको क्रममा ज्यान गुमाएका तेह्रथुम र धनकुटाका २४ सहिद परिवारलाई अभिनन्दन गरिएको थियो ।
पार्कमा धनरुपा कार्की, हर्कबहादुर तिवारी, छत्रमाया थाम्देन, दिलु थाम्देन, तिलबहादुर सोदेम्बा र विजय गुरुङको शालिक निर्माण गरिएका छन् । सङ्घीय सरकारको सहरी विकास मन्त्रालयको रु तीन करोड लागतमा पार्क निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष केप्छाकीले बताउनुभयो । नेपाली सेनाको हेलिकप्टरमार्फत आज बिहान नेता बर्षमान पुनका साथ अध्यक्ष दाहाल यहाँ आउनुभएको थियो ।