८ फागुन काठमाडौँ । नेपाल एकीकरणको इतिहास अध्ययन गर्ने गोरखा दरबार सङ्ग्रहालयमा आठ महिनाको अवधिमा ७५ हजारभन्दा बढीले भ्रमाण अवलोकन गरेका छन् ।चालु आर्थिक वर्षको साउनदेखि माघसम्ममा आन्तरिक र बाह्य पर्यटक गरी ७५ हजार ७९१ जनाले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका हुन् ।
सङ्ग्रहालयको भ्रमण गर्नेमध्ये सबैभन्दा धेरै शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरू छन् । शैक्षिक भ्रमणका सिजनमा धेरै जिल्लाबाट यहाँ अवलोकन गर्न विद्यार्थीहरू आइपुग्ने गरेका हुन् । यस्तै, सार्क राष्ट्र र अन्य देशका पर्यटकसमेत गोरखा दरबार सङ्ग्रहालय घुम्न आउने गरेका हुन्छ । साउनयता सङ्ग्रहालयको भ्रमण गर्नेहरूमा ४३ हजार ८४८ जना विद्यार्थी छन् यस्तै, ३० हजार ७०४ जना आन्तरिक, एक हजार १६६ जना तेस्रो मुलुक र ७३ जना सार्क राष्ट्रभित्रका पर्यटकले सङ्ग्रहालयको भ्रमण गरेका छन् ।
सङ्ग्रहालयमा पर्यटकहरूले नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहलगायत शाहवंशीय राजाहरूको इतिहास अध्ययन गर्न पाउने व्यवस्था छ । विभिन्न जातजातिको संस्कृति र परम्परा झल्कने डमी, दिव्य उपदेश कक्ष, वंशावली कक्ष, धार्मिक परम्परा कक्षलगायत १२ वटा प्रदर्शनीकक्ष सङ्ग्रहालयमा रहेका छन् । यो सङ्ग्रहालय विंस २०६५ देखि सञ्चालनमा आएको हो ।