१० चैत काठमाडौँ । पर्सामा माध्यमिक शिक्षा परीक्षा एसईईमा मर्यादाविपरीत कार्य गर्ने सहायक केन्द्राध्यक्षसहित चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० गणेश अर्यालको अध्यक्षतामा शनिबार साँझ बसेको एसईई परीक्षा समन्वय समितिको बैठकले उनीहरूलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।
प्रजिअ अर्यालले माइस्थान विद्यापिठ माध्यमिक विद्यालय वीरगञ्जका केन्द्राध्यक्ष मुनिलाल कर्णले परीक्षाको मर्यादा र अनुशासन परिपालनामा पर्याप्त सावधानी तथा सतर्कता अपनाएको नदेखिएकाले उनलाई सचेत गराउने निर्णय गरिएको बताए । सोही केन्द्रका सहायक केन्द्राध्यक्ष जयप्रकाश सर्राफको गतिविधि शङ्कास्पद देखिएकाले उनलाई परीक्षा अवधिभर उक्त परीक्षा केन्द्रमा प्रवेश नगराउने निर्णय भएको छ ।
बैठकले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मसिहानी र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, निचुटा परीक्षा केन्द्रमा अभिभावक सङ्घलगायत अनधिकृत व्यक्तिको प्रवेश देखिएकाले उक्त केन्द्रका केन्द्राध्यक्षलाई लिखित रुपमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
सुन्दरमल रामकुमार कन्या माध्यमिक विद्यालय वीरगञ्ज परीक्षा केन्द्रमा नियमिततर्फका परीक्षार्थीलाई ग्रेडवृद्धितर्फको प्रश्नपत्र दिएको र ग्रेडवृद्धितर्फका परीक्षार्थीलाई नियमिततर्फको प्रश्नपत्र वितरण गरिएको पाइएकाले त्यस्ता कार्य आगामी परीक्षामा हुन नदिन निर्देशन दिँदै प्रश्नपत्र वितरणलगायत परीक्षा व्यवस्थापनमा सहजीकरण गर्न स्थानीय तहको शिक्षा शाखाका पदाधिकारीलाई समेत परिचालन गर्ने निर्णय गरिएको प्रजिअ अर्यालले जानकारी दिए ।