१० चैत काठमाडौँ । सिरहाको औरही गाउँपालिका—५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाका घटनाका पीडित परिवारले प्रहरीमा जाहेरी दिएको छ ।उक्त घटना बारे पीडित परिवारका तर्फबाट जाहेरी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रमुखले जानकारी दिए । यसले कानुनी कारबाहीको प्रक्रिया अघि बढ्न थप सहज भएको छ ।दलित अगुवासहित पुगेर पीडित परिवारका दिपक मरिकले जातीय भेद्भाव तथा छुवाछूतसम्बन्धी कसुरको जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरङ्गी बाबालाई प्रतिवादी बनाइएको छ ।
औरहीका स्थानीयसमेत रहेका राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कबुली पासवानका अनुसार जाहेरीमा प्रतिवादीहरूले पीडित परिवारमाथि जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापित गरेकाले दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने माग गरिएको छ ।घटनामा सङ्लग्न भएको आरोपमा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई शुक्रबार नै प्रहरीले पक्राउ गरिसकेको छ ।
बजरङ्गी बाबा भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जानकारी दिए । यही चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका नाममा गत फागुन १० गते अछूत भन्दै महायज्ञस्थलमा रहेको मल्लिकको घर भत्काइएको थियो । गाउँपालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र बजरङ्गी बाबाले डोजर लगाएर भत्काइदिएको भनेर घटना सार्वजनिक भएको थियो । त्यसैगरी राष्ट्रय मानवअधिकार आयोग तथा राष्ट्रिय दलित आयोगले समेत घटनालाई महत्व दिएर स्थलगत अनुगमन गरेर अनुसन्धान अगाडि बढाएका छन् ।