२ वैशाख काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेताको नेतृत्वशैलीले व्यवस्था बदलिए पनि अवस्था बदलिन नसकेको बताउनुभएको छ । बौद्धिक पेशाकर्मी परिषद्ले आज यहाँ आयोजना गरेको नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेतृत्वशैली बदल्नुपर्ने बताउनुभएको हो ।
महामन्त्री थापाले अहिले नागरिकले नेतृत्वसँग शुद्धता र योग्यता दुवै खोजेका छन्, योग्यता र शुद्धता भएको नेतृत्वले अहिलेको समस्या समाधान गर्न सक्छ बताउनु भयो । सरकारले सेवा प्रवाह गर्न सक्नुपर्ने उल्लेख गर्दै उहाँले शिक्षक र सहकारी पीडितका समस्या समाधानमा जोड दिनुभयो ।
सांसद सूर्य थापाको नेतृत्वमा गठित संसदीय समितिले सहकारी छानबिनसम्बन्धी प्रतिवेदन दिएको लामो समयसम्म पनि रु पाँच लाखभन्दा कम बचत गरेका सहकारी पीडितले बचत फिर्ता पाउन नसकेको बताउँदै उहाँले सेवाप्रवाह छिटो र चुस्त बनाउन पार्टीले सरकार एवं मन्त्रीहरुलाई अनुरोध गरिरहेको जानकारी दिनुभयो ।
परिषद्का अध्यक्ष धु्रवराज थापाले आर्थिक, सामाजिक र राजनीतिक हिसाबले देश अप्ठ्यारो अवस्थामा रहेको उल्लेख गर्दै यस्तो अवस्थाको सुदृढीकरणमा नेतृत्वको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।