८ वैशाख काठमाडौँ । ट्रेड टावर लिमिटेडले आज देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो।कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
सोमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर निष्काशन गर्न लागेको हो।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा बैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन्।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।