८ वैशाख काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले यही वैशाख १२ गते सार्वजानिक बिदा दिने निर्णय गरेको छ । २०७२ वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पको स्मृतिमा गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले वैशाख १२ गते शुक्रबार दिन सार्वजनिक विदा भनि उक सूचना जारी गरेको छ ।
पालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै पालिकाले बैशाख १२ गते पालिका अन्तरगतका सरकारी, गैरसरकारी, संस्थाका कार्यालय, विद्यालय तथा स्वास्थ्यचौकीहरु बन्द हुने गाउँपालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिनुभयो । यस दिन गाउँपालिकाले विभिन्न कार्यक्रम जसमा गाउँपालिका वडा न १ बारपाकको हिमालय मा विको प्राङगणमा बिहान १०:३०मा श्रदाञ्जली कार्यक्रम भूकम्प सम्बन्धी फोटो प्रदर्शनी तथा जनचेतनामूलक कार्यक्रम गर्ने हुदा सबै बुद्वि जिवी अभिभावक तथा विभिन्न राजनिती दलका नेता कार्यकर्तालाइ सहभागिताको लागि अपिल समेत गरेका छन् ।
बैशाख १२ गते भूकम्पको केन्द्रविन्दू बारपाकमा भूकम्प स्मृति दिवस मनाइने भएको छ । दशौँ वर्ष अगाडि ०७२ वैशाख १२ गते शनिबार मध्यान्ह्र बारपाक केन्द्रविन्दु बनाएर गएको ७।६ रेक्टर स्केलको भूकम्प र त्यसपछि निरन्तर गएको ठूला पराकम्पमा ज्यान गुमाएका नागरिकको सम्झनामा गाउँपालिकाले विदा दिएको जनाएको हो ।
०७२ मा गएको भूकम्पमा गोरखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौं, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै जनधनको क्षति पुगेको थियो भने ३२ जिल्ला प्रभावित बनेका थिए । त्यो भूकम्प पछिल्लो ८० वर्षकै ठूलो भूकम्प थियो । मुलुकले बिर्सन नसक्ने गरी भूकम्पले धनजनको क्षति गराएको थियो । त्यसअघि विसं १९९०, २०३७, २०४५ र २०६८ मा गएको भूकम्पले नेपालमा विभिन्नस्तरमा क्षति गराएको पाइन्छ ।