२३ जेठ काठमाडौँ । नेकपा माआवादी केन्द्रले योङ कम्युनिस्ट लिग वाईसीएलको नयाँ नेतृत्वमा सहमति जुटाएको छ ।माओवादी केन्द्र निकट स्रोतका अनुसार, अध्यक्षका आकांक्षी पुष्प ओलीको नाममा सहमति जुटेको हो । ओली वर्तमान समितिका उपमहासचिव हुन् । त्यस्तै महासचिवमा भने गणेश शाहीको नाममा सहमति जुटेको छ ।
आइतबारदेखि सुरु भएको तेस्रो सम्मेलनमा सहमति जुट्न नसक्दा चार पटकसम्म निर्वाचन कार्यतालिका संशोधन भएको थियो ।बिहिबारसम्म कमलादीस्थित प्रज्ञा भवनमा चलेको सम्मेलन आजदेखि चाबहिल मित्रपार्कमा रहेको गोल्डेन पार्टी प्यालेसमा सारिएको थियो ।
वाईसीएल नेताहरुका अनुसार अध्यक्षका आकांक्षी १३ जना आकांक्षी थिए ।पछिल्लो पटक केहरसिंह कुँवर, पुष्प ओली, कर्म पुलामीबीच सहमति जुटाउन नेताहरू लागेका थिए ।अध्यक्ष प्रचण्डसहितको छलफलपछि ओलीको नाममा सहमति जुटेको एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।कुँवर वर्तमान समितिमा उपाध्यक्ष हुन् भने पुलामी सचिव हुन् ।