२५ जेठ काठमाडौँ । गोरखा बारपाक सुलिकोट गाउँपालिका बारपाकमा रहेको दरौंदी हाइड्रो प्रालिका जनसम्पर्क अधिकृत कृष्ण पन्थी पक्राउ परेका छन् । बारपाक सुलिकोट गाउँपालिका–२ बल्फेस्थित राष्ट्रिय वन क्षेत्रको रुखहरु विना अनुमति काटेको आरोपमा पक्राउ गरिएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।
हाइड्रोबाट उत्पादित बिजुली सम्बन्धित ठाउँमा जोड्नका लागि प्रसारण लाइनमा पर्ने रुखहरू कटान गरेका रहेछन् । निजी जग्गाका रुखहरु काट्ने क्रममा राष्ट्रिय वन क्षेत्रका केही रुखहरू पनि काटेको एक अधिकृतले बताए । सूचना पाएलगतै स्थलगत अनुगमन गर्दा राष्ट्रिय वन क्षेत्रमा पर्ने साल, चिलाउने लगायतका जातका रुख काटेको पाइएको छ ।
उनका अनुसार पन्थीलाई २१ जेठमा पक्राउ गरिएको हो । उनीविरुद्ध वन पैदावार हानि नोक्सानी शीर्षकमा मुद्दा दर्ता गरी वन ऐन २०७६ अनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।