४ असार काठमाडौँ । नेकपा एमाले राष्ट्रिय सल्लाहकार परिषद्का केन्द्रीय सदस्य भरत प्रसाद साह बुधबार औपचारिक रूपमा नेकपा माओवादी केन्द्र मा प्रवेश गरेका छन्।
उनले बुधबार चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको हातबाट टीका लगाई पार्टी प्रवेश गरेका हुन्।बारा जिल्लाको कलैया उपमहानगरपालिका–५ निवासी साहले आफ्नो राजनीतिक जीवनको सुरुवात २०३५ सालमा अखिल पाँचौं का बारा जिल्ला अध्यक्षको रूपमा गरेका थिए।
त्यसपछि २०३७ र २०३८ सालमा ठाकुरराम कलेजमा दुई कार्यकाल स्ववियु सदस्यमा निर्वाचित भई विद्यार्थी राजनीतिमा सक्रिय सहभागिता जनाएका थिए।
२०५४ देखि २०५९ सालसम्म एमाले शिक्षक संगठन बारा जिल्ला अध्यक्षका रूपमा नेतृत्व सम्हाल्नु भएका साह २०६१ सालमा नेपाल शिक्षक युनियन बारा जिल्ला अध्यक्ष र २०७१ सालतिर केन्द्रीय अध्यक्ष बनेका थिए।पार्टी नेतृत्व केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्र रोजेको बताइएको छ।