२० असार काठमाडौँ । उत्तरी गोरखा चुमनुब्री गाउँपालिका वडा न — ३ पाङसिङका चन्द्रबहादुर गुरुङको केही दिन अघि दुबाईमा मृत्यु भएको छ । वैदेशिक रोजगारको लागि गएका ४४ बर्षका गुरुङको दुबाईमा हिँड्दाहिँड्दै ढलेर मृत्यू भएको स्थानीय वुद्ध गुरुङले जानकारी दिए ।
उनको शव बिहिबार राती नेपाल आईपुग्ने भन्दै आफन्तहरु पर्खाइमा रहेको उनले बताए ।राती ११ बजे शव आइपुग्छ भन्ने खबर आएको छ । सोतीसम्म नेपाल सरकारले एम्बुलेन्समा ल्याइदिने खबर भएको थियो । उनको शव लिन काठमाडौं एयरपोर्टमा सिर्दिबास सम्पर्क समिति खटिएको छ ।
मृतक चन्द्रबहादुर गुरुङ तीनबर्ष अघि दुबाई गएका थिए । काम गरेको कम्पनीमा भिसा सिद्धिएको रहेछ । नेपाल आउन लाग्दा राहदानीको पनि म्याद सकिएको रहेछ ।
भिसा, पासपोर्टको म्याद पनि सकिएको, श्रम स्वीकृति पनि सकिएकाले बेस्सरी तनाबमा रहेछ । खान, बस्न पनि समस्या भएपछि तनाबकै अबस्थामा मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । उनको मृत्यु भएको एकहप्तापछि मात्र घर परिबारले जानकारी पाएको उनले बताए । गुरुङको घरमा श्रीमती, एक छोरा र एक छोरी छन् ।