२० असार काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले यही असार ७ गते देखि काठमाडौं उपत्यकाबाट सुरु गरिएको अभियान हाल वडा–वडासम्म फैलिएको छ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, विभिन्न दलका नेताहरु, कलाकार विपिन कार्की, रमेश उप्रेतीजस्ता सार्वजनिक व्यक्तित्वको समर्थनसहित अभियानमा सहभागी भएका छन्।
तर, यही अभियानमा नेपाल प्रहरीका सई (प्रहरी नायब निरीक्षक) कमल खड्काको सहभागिता प्रहरी संगठनभित्र विवादको विषय बनेको छ। ट्राफिक प्रहरी पोष्ट नेपालगन्जमा कार्यरत सई खड्का प्रहरीको बर्दीसहित रास्वपाको हस्ताक्षर अभियानमा सहभागी भएको भिडियो सार्वजनिक भएपछि उनलाई छानबिनका लागि प्रहरी प्रधान कार्यालय, काठमाडौं बोलाइएको हो।प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सई खड्काविरुद्ध विभागीय कारबाही प्रक्रिया अघि बढाइएको छ।
एक वरिष्ठ अधिकारीले भने, “प्रहरी राष्ट्रका लागि निष्पक्ष रुपमा खटिनुपर्ने हो। कुनै राजनीतिक पार्टीको पक्षमा प्रहरी बर्दीमै अभियानमा सहभागी हुनु गम्भीर अनुशासनहीनता हो।स्रोतका अनुसार खड्का प्रहरी संगठनभित्र सधैं आकर्षक पोष्ट लिने, पहुँच र प्रभाव प्रदर्शन गर्ने स्वभावका व्यक्तिका रूपमा चिनिन्छन्। अध्यक्ष लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही कारागारमा छन्।
उच्च अदालत तुलसीपुर (बुटवल इजलास)को आदेशपछि थुनामा परेका लामिछानेको निवेदन सर्वोच्च अदालतले पनि अस्वीकार गरेपछि उनी अहिले कारागारमै छन्।यसबीच, लामिछाने र रास्वपाले अदालतको आदेशलाई राजनीतिक प्रतिशोध भन्दै देशव्यापी हस्ताक्षर अभियान थालेका छन्। रास्वपाले भने आफ्ना सभापति लामिछानेविरुद्धको मुद्दालाई राजनीतिक प्रतिशोधका रूपमा चित्रण गर्दै ९० दिने हस्ताक्षर अभियान सुरु गरेको हो।