३० असार काठमाडौँ । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा घरमै बसेर विशेषज्ञ चिकित्सकसँग स्वास्थ्य उपचार सेवा लिन सकिने गरि ‘टेलिमेडिसिन सेवा’ सञ्चालनमा सुरु गरिने भएको छ । ग्रामिण तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकले स्थानीय स्वास्थ्यकर्मीको सहयोगमा चिकित्सकसंग भिडियोमार्फत परामर्स र उपचार सेवा पाउने गरि ‘टेलिमेडिसिन सेवा’ सुरु गर्न लागिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।
विशेष गरि यस सञ्चालनमा गर्भवती, सुत्केरी महिला तथा बालबालिकालाई लक्षित गरि यो सेवा सुरु गर्न लागिएको पालिका अध्यक्ष गुरुङले बताउनु भयो । उक्त सेवा वार्म नेष्ठ फाउण्डेसन, रिन्युएवल वल्र्ड र गोरेटो गोरखाको सहकार्यमा धार्चे गाउँपालिका र प्रदेश अस्पताल गोरखा विच सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ ।गाउँपालिकाले साँझेदार संस्थाहरुको सहभागितामा अस्पतालसंग शुक्रबार सम्झौता गरेर सेवा सञ्चालनको प्रक्रिया अघि बढाइएको अध्यक्ष गुरुङको भनाई छ ।
गाउँपालिकाले पालिका भित्रका रहेका ७ वटा स्वास्थ्य चौकी र ११ वटा सामाजिक स्वास्थ्य इकाईबाट टेलिमेडिसिन सेवा प्रदान गर्न लागेको हो ।गाउँपालिकामा “स्वास्थ्यका लागि ऊर्जा स्केल अप परियोजना’’ अन्तर्गत ‘टेलीमेडिसिन सेवा’ लागू गर्न लागिएको हो ।
धार्चेका आमाबुबा, गर्भवती महिला, बालबालिकालगायत सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमा पु¥याउनका लागि निरन्तर पहल गरिरहेका छौ, अध्यक्ष गुरुङले जानकारी दिनु भयो । पालिकाले सुरु गर्न लागेको यो सेवाले पालिकाबासीलाई थप सहज हुने पालिकाले जनाए ।