१५ भदाै काठमाडौँ । बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले चालु आर्थिक वर्षमा पर्यटन क्षेत्रमै ३ अर्ब ३१ करोड रुपैयाँ लगानी गर्ने बताएका छन् । मन्त्रालयका सचिव सुवेदीले ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) को ४७औँ साधारण सभामा यो जानकारी दिँदै पर्यटन प्रवद्र्धन र पूर्वाधार निर्माणलाई प्रदेश सरकारको शीर्ष प्राथमिकतामा राखिएको स्पष्ट पारेका हुन् ।
उनका अनुसार, अहिलेसम्म पर्यटन क्षेत्रमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच आवश्यक समन्वयको कमीका कारण अपेक्षित परिणाम हासिल हुन सकेको छैन । यही कारण आगामी वर्षदेखि मन्त्रालयले पर्यटन नीति निर्माण गरेर कार्यान्वयनलाई बलियो बनाउने र तीनै तहबीचको सहकार्यलाई प्रभावकारी बनाउने तयारी गरिरहेको छ ।
सुवेदीले पर्यटनको विकासलाई परम्परागत दृष्टिकोणमा मात्र सीमित नराखी साहसिक पर्यटन प्रवद्र्धन तर्फ उन्मुख हुने बताए । उनले गत वर्षदेखि सुरु गरिएको लाङटाङ म्याराथनलाई निरन्तरता दिँदै यसलाई प्रदेशस्तरमै साहसिक पर्यटनको ब्रान्ड कार्यक्रमका रूपमा स्थापित गर्ने योजना रहेको उल्लेख गरे। साथै, यस वर्षदेखि साहसिक पर्यटन दिवस मनाउने तयारी भएको पनि जानकारी दिए ।
मन्त्रालयले यसै वर्ष ६ हजार मिटर उचाइका विभिन्न हिमशिखर ९पिक० हरुको पहिचान र नयाँ आरोहण मार्ग ९रुट० अन्वेषणमा काम अघि बढाएको छ । यस कदमले भविष्यमा साहसिक पर्यटकलाई नयाँ गन्तव्य आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
यति मात्र होइन, सिन्धुपाल्चोकको बलेफीमा एशियामै पहिलो पटक ¥याफ्टिङ स्कुल सञ्चालन गर्ने उद्देश्यले पूर्वाधार निर्माण भइरहेको सुवेदीले बताए । यसले नेपाललाई साहसिक जलक्रीडाको नयाँ केन्द्रका रूपमा चिनाउने विश्वास मन्त्रालयले लिएको छ ।
सचिव सुवेदीका अनुसार, नेपालको पर्यटन क्षेत्रको ठूलो हिस्सा निजी क्षेत्रले ओगटेको छ। त्यसैले प्रदेश सरकारले आगामी दिनमा निजी क्षेत्रसँग सहकार्य र साझेदारीलाई प्राथमिकतामा राख्दै अघि बढ्नेछ।यो घोषणाले बागमती प्रदेशमा पर्यटनको भविष्यप्रति व्यवसायी र लगानीकर्तालाई नयाँ आशा दिएको छ। एकातिर भौतिक पूर्वाधार निर्माण, अर्कोतिर साहसिक पर्यटन प्रवद्र्धनको योजना– यी दुबै कुराले प्रदेशलाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।