३ असोज काठमाडौँ । गोरखाका एक पुरुष झोलुङ्गे पुलबाट त्रिशुली नदीमा हाम्फालेर बेपत्ता भएका छन् । गण्डकी गाउँपालिका–१ मकैसिङका ४३ वर्षीय दिने अधिकारी सोमबार बिहान करिब १० बजे शहीदलखन गाउँपालिका–४ राईनास र चितवनको इच्छाकामना गाउँपालिका–३ कुरिनघाट जोड्ने झोलुङ्गे पुलबाट नदीमा हाम्फालेको प्रहरीले जनाएको छ ।
घटनाबारे स्थानीयवासीबाट जानकारी पाएपछि प्रहरी चौकी कुरिनटार र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनबाट गोताखोरसहितको टोली उद्धार कार्यमा खटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार अधिकारीले प्रयोग गर्दै आएका मोबाइल फोन र कपडा उक्त पुलमै फेला परेका छन् । अधिकारीको खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।