३० कार्तिक काठमाडौँ ।सौरपानीको सिम्बुमा भिर मह काट्ने कार्य सुरु गरिएको छ । गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा–४ सौरपानीको सिम्बुमा स्थानीय बासिन्दाहरुले परम्परागत र आधुनिक दुवै विधिको प्रयोग गरेर मह काट्ने कार्य सञ्चालन गरेको स्थानिय मिलन ढकालले बताए ।

उनीहरुले हरेक बर्ष जस्तै यो बर्ष पनि सयौँदेखि चोयाको डोरी, बाँसका भाटा र स्थानीय सीप प्रयोग गरी भिरमौरीको मह काट्दै आएका शिम्बुबासीहरुले जनाए । मह काट्ने क्रम पछिल्ला वर्षहरु भन्दा यो बर्ष सुरक्षा र सुविधाका लागि क्लाइम्बिङ डोरी, हारनेस लगायतका आधुनिक उपकरणसमेत प्रयोग गर्न थालेका हुन्।

उच्च भिरालो चट्टानमा जोखिम मोलेर मह संकलन गर्ने यहाँको संस्कृति अहिले पनि उत्तिकै जीवित छ। परम्परागत ज्ञान, वन तथा मौरी संरक्षणप्रतिको आस्था र आधुनिक उपकरणको सुरक्षामूलक साथले यो प्रक्रिया अझ सुरक्षित र प्रभावकारी बन्न थालेको स्थानीयहरू बताउँछन्।

हातमा आगोको सल्को, शरीरमा डोरीको सहारा र सामुन्ने हजारौँ भिरमौरीको गुच्छा-सिम्बुबासीको यो साहसिक पहिचान आज पनि उत्तिकै रोचक र प्रेरणादायी मानिन्छ। युवापुस्ताले पनि परम्परा जोगाउँदै आधुनिक सीप सिक्दै सामूहिक प्रयासमा सहभागिता जनाएपछि भिरमौरी मह उत्पादन र संरक्षण दुवै कार्यमा थप सहजता आएको स्थानीयको भनाइ छ।

सिम्बु क्षेत्रको भिरमौरी मह उच्च गुणस्तर र औषधी गुणका कारण लोकप्रिय मानिन्छ। परम्परा र प्रविधिको मेलसँगै मह सङ्कलनको यो चलन भविष्यमा अझ व्यवस्थित र सुरक्षित रुपमा अघि बढ्ने अपेक्षा स्थानीयले व्यक्त गरेका छन्।
