३ मंसिर काठमाडौँ । गोरखामा खेत जोत्ने क्रममा ट्याक्टरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । घटना पालुङटार नगरपालिका वडा न –९, वृद्धीस्थित खेतमा जोत्ने क्रममा ट्याक्टरको ठक्कर लागेर एक व्यक्तिको मृत्यु भएको हो ।
हिजो दिउँसो करिब १३:५० बजे प्रदेश २–०३–००१ त २८२७ नम्बरको ट्याक्टरले ब्याक हुने क्रममा ठक्कर दिँदा ६० वर्षीय जगबहादुर बानियाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
बानियाँ सोही ठाउँका जग्गाधनी हुन्। घटनाका अनुसार बानियाँ ट्याक्टरको पछाडि जोडिएको काठको मुढामा बसेर खेत सम्याइरहेका बेला गियर फेल भई ट्याक्टर अचानक पछाडि सर्दा ठक्कर लागेको थियो ।
घटनाको खबर प्राप्त भएपछि प्रहरी चौकी रातामाटेबाट टोली खटाई घटनास्थल सुरक्षित गरिएको प्रहरीले बताएको छ। थप अनुसन्धान तथा मुचुल्का कार्यका लागि इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेको हो ।
ट्याक्टर चालक ५४ वर्षीय धनबहादुर कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको र ट्याक्टर घटनास्थलमै रहेको जिल्ला प्रहरी कार्यालयले गोरखाले जनाएको छ ।