९ मंसिर काठमाडौं । नेपाल जेनजी फ्रन्टले निर्वाचन आयोगसँग विदेशमा रहेका नेपालीलाई मतदान सुनिश्चित गर्ने लगायतका माग राखेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाल जेनजी फ्रन्टले विदेशमा रहेका नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्नुपर्ने मागसहित निर्वाचन आयोगमा ज्ञापन पत्र बुझाएका हुन् ।
फ्रन्टले आयोगसमक्ष बुझाएको मागपत्रमा वैदेशिक रोजगारी, अध्ययन वा अन्य कारणले विदेशमा रहेका नेपालीले पनि समान रूपले निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउनु पर्ने भन्दै आवश्यक कानुनी तथा प्राविधिक व्यवस्था मिलाउन आग्रह गरिएको छ।
यससँगै फ्रन्टले मतदाता शिक्षा विस्तार गर्न, निर्वाचन प्रक्रियामा प्राविधिक सहजता ल्याउन, अपाङ्गता भएका व्यक्ति, महिला तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि विशेष व्यवस्थाको माग समेत राखेको जनाएको छ।
जेनजी फ्रन्टका अनुसार आगामी निर्वाचन सबै नागरिकको सहभागितासहित निष्पक्ष, सहज र विश्वासयोग्य होस् भन्ने लक्ष्यसहित आयोगलाई अघि बढ्न आग्रह गरिएको हो।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका तयारी तीव्र हुँदै गर्दा विभिन्न राजनीतिक तथा नागरिक समूहहरूले आयोगलाई विविध सुझाव र माग प्रस्तुत गर्ने क्रम बढिरहेको छ।