३ पुस काठमाडौँ । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित केपी शर्मा ले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन्।अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई भारी मतान्तरले पराजित गर्दै ओली तेस्रो पटक पार्टी अध्यक्षमा निर्वाचित भएका हुन्।
पार्टी विधानअनुसार उनी शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको हो।शपथ कार्यक्रमअघि महाधिवेशन स्थल भृकुटीमण्डपमा ओलीसहित निर्वाचित पदाधिकारीलाई नेता तथा कार्यकर्ताहरूले माला र खादा लगाएर बधाई दिइरहेका छन्।अध्यक्ष ओलीले शपथ ग्रहण गरेपछि अन्य निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई पनि शपथ गराउने कार्यक्रम रहेको छ।
केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार अध्यक्षसहित अधिकांश पदमा ओली प्यानलका उम्मेदवारहरूको वर्चस्व देखिएको छ। दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिए पनि अधिकांश पदमा ओली पक्षका उम्मेदवार विजयी भएका हुन्।पोखरेल प्यानलबाट उपमहासचिवमा योगेश भट्टराई र उपाध्यक्षमा गोकर्ण विष्ट मात्र निर्वाचित भएका छन्। सचिव पदमा भने सबै ओली प्यानलकै उम्मेदवारहरू निर्वाचित भएका छन्।