७ पुस काठमाडौँ । सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिकाको वडा नं.५ मा दक्षिण एसियाकै पहिलो राफ्टिङ स्कूल सञ्चालनको भवना निर्माण सम्पन्न भएको छ। बलेफी गाउँपालिकाको विशेष पहल तथा बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभागको बजेटबाट यो स्कुल निर्माण गरिएको हो। स्कुल निर्माणमा सिन्धु पर्यटन व्यवसायी संघ तथा संघीय सरकारअन्तर्गत संघीय सरकारले करिब १३ करोड रुपैयाँ लगानी गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सचिव दिपेन्द्र सुवेदीले जानकारी दिनु भयो ।

सञ्चालनका विषयमा समन्वय तथा सहकार्य गर्ने उद्देश्यले हिजो बलेफी गाउँपालिकाले बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयका मन्त्री सुरेश श्रेष्ठ, प्रदेश सांसद अमृता नेपाल, मन्त्रालयका सचिव दिपेन्द्र सुवेदी, पर्यटन कार्यालय काठमाण्डौका प्रमुख पवन पोखरेल, गाउँपालिकाका अध्यक्ष गंगा तामाङसहितको टोलीद्वारा स्थलगत अवलोकन तथा अनुगमन गरिएको छ। अनुगमनका क्रममा स्थानीय सरोकारवालासँग छलफलसमेत गरिएको थियो। निर्माण सम्पन्न पछि उक्त राफ्टिङ स्कुलको पर्यटन मन्त्रालयका मन्त्री तथा प्रदेश सचिवहरुको उपस्थितिमा सम्पूर्ण सरोकारवालाहरूले अवलोकन गरेका हुन्। कार्यक्रममा विद्यालय सञ्चालन, व्यवस्थापन, तालिमको गुणस्तर, स्थानीय रोजगारी तथा पर्यटन प्रवर्द्धनका विषयमा आ–आफ्ना धारणा र सुझावहरू राखिएको थियो।

र्याफ्टीङ स्कुल सञ्चालनमा आएपछि साहसिक पर्यटनको विकाससँगै स्थानीय युवाहरूलाई दक्ष जनशक्ति उत्पादन गर्ने, रोजगारी सिर्जना गर्ने र क्षेत्रीय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। साथै, बलेफी क्षेत्रलाई साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न यस परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। सम्पूर्ण सरोकारवालाहरूले विद्यालयको दिगो सञ्चालनका लागि सहकार्य र सहयोगको प्रतिबद्धता जनाएका छन्।

निकट भविष्यमै राफ्टिङ स्कुल औपचारिक रूपमा सञ्चालनमा आउने आशा गरिएको छ। स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीको अनुरोधमा प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले र्याफ्टीङ स्कुल सञ्चालनको जिम्मा लिने तयारी गरेको छ। मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीका अनुसार प्रदेश सरकारबाट स्कुल व्यवस्थापन समिति गठन गरी सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइएको छ। सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले र्याफ्टीङ स्कुल फागुन महिनाको पहिलो हप्तादेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको जानकारी दिए।

उनका अनुसार स्कुलमा आवासीय प्रयोजनका लागि ११ वटा पक्की कोठा, चार वटा कक्षा कोठा रहेका छन् भने एक पटकमा करिब १ सय २० जना प्रशिक्षार्थीलाई तालिम दिन सकिने क्षमता रहेको छ। प्राकृतिक, भौगोलिक र पूर्वाधारका हिसाबले सुकुटे र्याफ्टीङ पर्यटनको हब बन्ने क्षमता राख्दछ। योजनाबद्ध लगानी, सुरक्षा मापदण्डको पालना, तालिमप्राप्त जनशक्ति र सरकारी–निजी सहकार्यलाई थप सुदृढ गर्न सके सुकुटेले नेपालकै मात्र होइन, दक्षिण एसियाकै प्रमुख साहसिक पर्यटन गन्तव्यका रूपमा पहिचान बनाउन सक्ने स्पष्ट सम्भावना रहेको छ।

