१८ पुस काठमाडौं । फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबारदेखि मतदाता नामावली छपाइको काम सुरु गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले आयोगको छापाखानामा जडान गरिएको ल्यापटपको माउस क्लिक गर्दै औपचारिक रूपमा मतदाता नामावली छपाइको शुभारम्भ गरेका हुन्।
आयोगका अनुसार मतदाता नामावली विवरण रंगिन रूपमा छापिएको छ, जसले मतदाता विवरणलाई अझ स्पष्ट र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। छपाइको काम समयमै सम्पन्न गरी निर्वाचन तयारीलाई प्रभावकारी बनाउने लक्ष्य आयोगले लिएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद अधिकारीले माघ ४ गतेभित्र सबै जिल्लामा मतदाता नामावली पत्र पठाइसक्ने जानकारी दिए। उनका अनुसार तोकिएको समयसीमाभित्र नामावली जिल्लामा पुग्ने व्यवस्था मिलाइएको छ।निर्वाचन आयोगले मतदाता नामावली छपाइ सुरु भएसँगै निर्वाचन तयारीले तीव्रता पाएको जनाएको छ। आयोगले स्वच्छ, निष्पक्ष र पारदर्शी निर्वाचन सम्पन्न गर्न सबै तयारी समयमै पूरा गरिने पनि स्पष्ट पारेको छ।