Logo

मंगलवार, श्रावण १२ गते २०८३

झापाको आवासीय भवनमा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापाको आवासीय भवनमा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

जोईन खबर

१२, श्रावण २०८३
  • 178
    SHARES
  • झापाको आवासीय भवनमा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

    १२ साउन काठमाडौँ ।  झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। मृतक सर्लाहीको लालबन्दी नगरपालिका–२ निवासी २९ वर्षीया कविताकुमारी ढुङ्गाना रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

    images

    प्रहरीका अनुसार ढुङ्गाना आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन्। गुप्ता पर्साको वीरगञ्ज–१६ निवासी हुन्। श्रीमान्–श्रीमती दुवै जना गत वैशाखदेखि उक्त विद्यालयमा शिक्षकका रूपमा कार्यरत थिए।

    जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएका छन्। उनका अनुसार मृत्युको कारण हालसम्म खुल्न नसकेको र शवलाई पोस्टमार्टमका लागि पठाएर घटनाका सबै पक्षबाट अनुसन्धान अघि बढाइएको छ।

    विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार साउन ५ गतेदेखि विद्यालय बिदामा रहेको थियो। सोमबार विद्यालय सञ्चालनका क्रममा दुवै शिक्षक सम्पर्कविहीन रहेको पाइएपछि उनीहरू बस्ने कोठामा पुग्दा बाहिरबाट ताला लागेको र फोन सम्पर्कसमेत हुन नसकेको थियो।

    प्रधानाध्यापक लुइँटेलका अनुसार दिनभर सम्पर्क हुन नसकेपछि साँझ करिब ४स्३० बजे रतन गुप्ताले आफ्नो वाट्सएपमा सन्देश पठाएका थिए। सन्देशमा श्रीमती कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको, आफूले शव अर्को कोठामा सारेको र डरका कारण त्यहाँबाट निस्किएको उल्लेख गर्दै कोठाको ताला खोलेर कानुनी प्रक्रिया पूरा गरिदिन अनुरोध गरिएको थियो।

    स्थानीयवासीका अनुसार रतन गुप्तालाई आइतबार साँझ करिब ५ बजे दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको थियो। त्यसयता उनी सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ।

    प्रहरीले घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरिसकेको जनाएको छ। साथै, सम्पर्कविहीन रहेका रतन गुप्ताको खोजी कार्य तीव्र पारिएको छ। प्रहरीले पोस्टमार्टम प्रतिवेदन र थप अनुसन्धानपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने भएकाले घटनाबारे कुनै निष्कर्षमा पुग्न हतार नगर्न आग्रह गरेको छ।

    प्रकाशित मिति :श्रावण १२, २०८३ मंगलवार - १०:४७:१४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको