२० कार्तिक काठमाडौं । पूर्वाधारमन्त्री सुनिल लम्सालका यातायात विज्ञ सल्लाहकार अनुकूल निधिको गाडीले राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेलाई ठक्कर दिएको छ।सिंहदरबारस्थित पूर्वाधार मन्त्रालयअघि शुक्रबार बिहान गाडीले ठक्कर दिँदा सांसद गैरे लडेकी थिइन्। घटनापछि उनी स्वास्थ्य परीक्षणका लागि राष्ट्रिय ट्रमा सेन्टर पुगेकी छन्।
सांसद गैरेका अनुसार आफू मन्त्रालयअगाडि जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएको थियो। ठक्करपछि लडेकी उनको शरीरमा बाहिरी चोट नदेखिए पनि दुखाइ भएपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेकी हुन्।
‘शरीरमा चोट लागेको छैन। लडेको कारणले दुखेको हो,’ सांसद गैरेले भनिन्, ‘चेकअप भइरहेको छ। गाडीमा सवार निधीजी पनि सँगै हुनुहुन्छ।’घटनापछि मन्त्रीका यातायात विज्ञ सल्लाहकार अनुकूल निधि पनि सांसद गैरेसँगै ट्रमा सेन्टर पुगेका छन्।
सांसद गैरेले आफूलाई ठक्कर दिएको घटनाबारे राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई समेत जानकारी गराएकी छन्।सिंहदरबारजस्तो संवेदनशील तथा सरकारी निकायका उच्च पदाधिकारीहरूको आवतजावत हुने क्षेत्रमा जेब्रा क्रसिङमै सांसदलाई गाडीले ठक्कर दिएको घटनाले सवारीसाधनको सावधानी र पैदलयात्रीको सुरक्षाबारे प्रश्न उठाएको छ।सांसद गैरेको स्वास्थ्य परीक्षण भइरहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।