२० कार्तिक चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई जनताको मतको सम्मान गर्न र अहंकार त्याग्न आग्रह गरेका छन्।
चितवनमा आज सम्बोधन गर्दै लामिछानेले जनताले विश्वास गरेर मत दिए पनि पार्टीका नेता तथा कार्यकर्तामा घमण्ड बढेको भन्दै आत्मसमीक्षा गर्नुपर्ने बताएका हुन्। ‘जनताले हामीलाई पत्याए, तर हाम्रो भुइँमा खुट्टा छैन। हामी मात्तिएका छौँ, टुप्पिएका छौँ,’ लामिछानेले भने, ‘माथिदेखि तलसम्म हामी यति मात्तिएका छौँ कि मान्छेलाई मान्छे गन्न छाडेका छौँ।’
उनले निर्वाचनमा १८२ सिट प्राप्त भएको भन्दै जनतामाथि दम्भ देखाउने छुट कसैलाई नभएको बताए। जनताको अभिमतको दुरुपयोग नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई सचेत गराउँदै उनले भने, ‘१८२ सिट आयो भन्दैमा भुइँ छोड्ने छुट कसैलाई छैन। जनताको हुर्मत लिन जनताको अभिमत दुरुपयोग नगर्नुस्, पार्टीले हेरिरहेको छ।’
लामिछानेले समाजले गल्ती औँल्याउँदा त्यसको प्रतिवादमा उत्रिनुभन्दा आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए। ‘समाजले ऐना देखाउँदा जाइलाग्ने होइन,’ उनले भने।लोकतन्त्र प्राप्तिका लागि विभिन्न राजनीतिक दल तथा नागरिकले गरेको संघर्षको स्मरण गर्दै लामिछानेले लोकतन्त्र कुनै एक दलको प्रयासबाट मात्रै आएको नभएको बताए।
‘लोकतन्त्र घण्टी बजाएर आएको होइन। अरूले रगत बगाएर ल्याएको लोकतन्त्रको अवमूल्यन नगरौँ,’ उनले भने।लामिछानेको अभिव्यक्तिलाई पार्टीभित्र जनमतको सम्मान, जिम्मेवारीबोध र व्यवहार सुधार गर्न दिएको सन्देशका रूपमा हेरिएको छ।