२० कार्तिक गोरखा । गोरखा जिल्ला प्रशासन कार्यालयले नेपालीहरूको महान् चाड तिहार, छठ तथा नेपाल संवतका अवसरमा शान्ति सुरक्षा कायम राख्दै चाडपर्व मनाउन जिल्लावासीलाई अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालय गोरखाले एक सूचना जारी गर्दै देउसी–भैलो, नाचगानलगायतका सांस्कृतिक गतिविधि राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न आग्रह गरेको हो। चाडपर्वका समयमा शान्ति सुरक्षा तथा अमनचयन कायम राख्न, सामाजिक सद्भावलाई बलियो बनाउन र कसैको इच्छा तथा चाहनाविपरीतका गतिविधि हुन नदिन प्रशासनले विभिन्न निर्देशन जारी गरेको छ।
प्रशासनले तिहार तथा छठका अवसरमा पटका, आतसबाजीजस्ता विस्फोटक पदार्थको आयात, ओसारपसार, बिक्रीवितरण तथा प्रयोग नगर्न आग्रह गरेको छ। त्यस्तै, मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने, सर्वसाधारणलाई असर पर्ने गतिविधि गर्ने तथा झैझगडा गर्ने कार्य नगर्न र नगराउन अनुरोध गरिएको छ।
भीडभाड तथा हुलहुज्जत गरी समाजमा अशान्ति र अशोभनीय गतिविधि नगर्न पनि प्रशासनले सचेत गराएको छ।चाडपर्वका समयमा बजारमा खाद्यवस्तुको गुणस्तरमा ध्यान दिन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयले अखाद्य रङ मिसाइएका मिठाई, झिलङ्गे रोटीलगायत अस्वस्थ तथा गुणस्तरहीन खाद्यवस्तुको बिक्रीवितरण र उपभोग नगर्न अनुरोध गरेको छ।त्यस्तै, म्याद गुज्रेका भाइ मसला तथा प्लास्टिकजन्य फूलमालाको प्रयोग र बिक्रीवितरण नगर्न पनि प्रशासनले आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय गोरखाले सूचनामा उल्लेख गरिएका गतिविधि गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ।प्रशासनले तिहार, छठ तथा नेपाल संवतजस्ता सांस्कृतिक पर्वले विविधताबीचको एकता कायम राख्दै आपसी सहयोग र सद्भावको भावना जागृत गर्नुपर्नेमा जोड दिएको छ।चाडपर्वलाई स्वतन्त्र, सुरक्षित र उल्लासपूर्ण रूपमा मनाउन सबै जिल्लावासीलाई अनुरोध गर्दै प्रशासनले देश तथा विदेशमा रहेका गोरखावासीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेको छ।