Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

सिरानचोकका १३ जनसरोकारका मागसहित नेपाली कम्युनिष्ट पार्टीद्वारा गाउँपालिकालाई ज्ञापनपत्र

सिरानचोकका १३ जनसरोकारका मागसहित नेपाली कम्युनिष्ट पार्टीद्वारा गाउँपालिकालाई ज्ञापनपत्र

जोईन खबर

२१, कार्तिक २०८३
  • 286
    SHARES
  • सिरानचोकका १३ जनसरोकारका मागसहित नेपाली कम्युनिष्ट पार्टीद्वारा गाउँपालिकालाई ज्ञापनपत्र

    २० कार्तिक गोरखा । नेपाली कम्युनिष्ट पार्टी सिरानचोक गाउँ समितिले सिरानचोक गाउँपालिकाका जनसरोकारका विभिन्न १३ बुँदे माग सम्बोधन गर्न आग्रह गर्दै गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ।पार्टीले विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, सुशासन, रोजगारी, वातावरण संरक्षण तथा सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित समस्याहरू समाधान गर्न माग गरेको हो। स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले जनताका आधारभूत आवश्यकता र विकासका अपेक्षालाई प्राथमिकतामा राख्नुपर्ने पार्टीको भनाइ छ।

    images

    पार्टीले गाउँपालिकाभित्रका खानेपानी, सडक, सिँचाइ तथा अन्य अधुरा विकास योजनाहरू सम्पन्न गर्न र वडागत सडक वर्गीकरण गरी प्राथमिकताका आधारमा निर्माण गर्न माग गरेको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, शिक्षक व्यवस्थापन तथा प्रविधिमैत्री शिक्षामा जोड दिँदै भूगोल र सडक पहुँचका आधारमा दुई विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्न पनि आग्रह गरिएको छ। विद्यार्थी सङ्ख्या न्यून भएका विद्यालय समायोजन गरी सुविधासम्पन्न बनाउनुपर्ने मागसमेत ज्ञापनपत्रमा उल्लेख गरिएको युवा नेता रोहीत गुरुङले जानकारी दिनु भयो ।

    images
    images
    images

    a4ac9d04-1895-42d7-9b8b-7b87c250afe9.jfif

    स्वास्थ्यतर्फ निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको जौवारी अस्पताल तत्काल सञ्चालन गर्न पार्टीले माग गरेको छ। गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, स्तरोन्नति र आवश्यक औषधिको नियमित उपलब्धता सुनिश्चित गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ।कृषि तथा रोजगारीका विषयमा किसानले उत्पादन गरेका वस्तु गाउँपालिकाले खरिद गरी बजारीकरणको व्यवस्था मिलाउन, कृषि अनुदान र आधुनिक प्रविधिको प्रयोग बढाउन तथा किसानलाई आफ्नो पेसाप्रति गर्व गर्ने वातावरण बनाउन आग्रह गरिएको छ।त्यस्तै, गाउँपालिकाको बजेट, योजना छनोट, खर्च विवरण र विकास निर्माणका काम पारदर्शी बनाउन तथा सार्वजनिक सुनुवाइलाई प्रभावकारी बनाउन माग गरिएको छ। महिला, दलित, जनजाति, मुस्लिम, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र विपन्न समुदाय लक्षित कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने पार्टीको माग छ।

    afc5b31b-b692-4a43-99c4-49de355e2cd8.jfif

    युवाको क्षमता विकास, खेलकुद पूर्वाधार निर्माण तथा गाउँमै रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्न पनि आग्रह गरिएको छ। वन तथा वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन र विपद् जोखिम न्यूनीकरणका कार्यक्रम प्रभावकारी बनाउन, खोलानाला तथा सडकमा फोहोर फाल्नेलाई कारबाही गर्ने व्यवस्था गर्न र आकस्मिक विपद् कोष सञ्चालन गर्नुपर्ने मागसमेत राखिएको छ।

    योजना तर्जुमा, छनोट र कार्यान्वयनमा स्थानीय नागरिक, शिक्षक, राजनीतिक दल, नागरिक समाज तथा सरोकारवालाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने पार्टीको भनाइ छ। योजना छनोट गर्दा समुदायको वास्तविक आवश्यकता र प्राथमिकतालाई आधार बनाउन पनि आग्रह गरिएको छ।ज्ञापनपत्रमा बाँदरबाट किसानका बालीनाली र घरमा भइरहेको क्षति तथा मानिसलाई समेत जोखिम बढेको उल्लेख गर्दै स्थानीय कानुन बनाएर बाँदर आतंक नियन्त्रण गर्न माग गरिएको छ। लामो समयदेखि दरौँदी र चेपे नदीमा करेन्ट लगाएर माछा मार्ने कार्य रोक्न व्यवहारिक तथा कानुनी उपाय अवलम्बन गर्न र गैरकानुनी रूपमा नदीजन्य पदार्थ उत्खनन तथा बिक्री गर्ने कार्य नियन्त्रण गर्न पनि आग्रह गरिएको छ।

    16149507-bbbd-49cd-9a16-3750f21f54a9.jfif

    यसैगरी, गाउँपालिकाको प्रशासनिक भवन निर्माण तत्काल सुरु गर्न, सार्वजनिक सेवा प्रवाह सहज बनाउन र सुशासन कायम गर्न माग गरिएको छ। करार कर्मचारीको पारिश्रमिकमा समानता कायम गर्दै न्यूनतम पारिश्रमिक सुनिश्चित गर्नुपर्ने विषय पनि ज्ञापनपत्रमा समेटिएको छ।पार्टीले प्रस्तुत मागहरू गाउँ कार्यपालिकाको बैठक, आगामी नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ समावेश गरी प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेको छ। स्थानीय सरकारलाई जनउत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउन रचनात्मक सुझाव, सहकार्य तथा खबरदारी जारी राख्ने प्रतिबद्धता पनि पार्टीले जनाएको छ।नेपाली कम्युनिष्ट पार्टी सिरानचोक गाउँ समितिका संयोजक तिलकबहादुर बानियाँ र सहसंयोजक धनबहादुर तामाङले २० कात्तिक २०८३ मा ज्ञापनपत्र प्रस्तुत गरेका हुन्।

    प्रकाशित मिति :कार्तिक २१, २०८३ शुक्रवार - १७:३०:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको