१२ जेठ काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सत्तारुढ सांसदहरुले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकामा रोष प्रकट गरेका छन् । एमाले अध्यक्ष ओलीले गत आइतबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै एक घण्टा ५२ मिनेट लामो मन्तव्य दिएका थिए ।
सोमबार माओवादी केन्द्रका सांसद माधव सापकोटाले एमाले अध्यक्ष ओली संसदमा हेडमास्टर शैलीमा प्रस्तुत भएको टिप्पणी गरेका थिए ।मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद बास्कोटाले आफ्नो पार्टीका अध्यक्ष ओलीको तेजोवध नगर्न सत्तारुढ सांसदहरुलाई चेतावनी दिए ।
ओलीलाई ‘हेडमास्टर’ भनिएकोप्रति आपत्ति जनाउँदै बास्कोटाले हेडमास्टरको उपाधिले नपुग्ने जवाफ दिए । ‘हेडमास्टर भन्नुभयो, हामी आक्रोशित छैनौं’ उनी भन्छन्, ‘नेकपा एमाले लोकतन्त्रको, राष्ट्रिय स्वाधीनताको, सामाजिक न्यायसहितको परिवर्तनको, पुनर्जागरण र राष्ट्रिय आत्मविश्वास निर्माणको विश्वविद्यालय हो ।एमाले अध्यक्ष ओलीले राखेका सम्पूर्ण विषयप्रति दृढ समर्थन रहेको बताउँदै सांसद बास्कोटाले सत्तापक्षका सांसदहरुले प्रतिपक्षीको आवाज सुन्ने धैर्यता राख्न नसकेको र आफ्नो कमजोरी लुकाउन प्रतिपक्षीको तेजोवध गरेको टिप्पणी गरे ।