१६ जेठ काठमाडौ । प्रधानमन्त्रीको भारत भ्रमण यही जेठ १७ (भोलि)बाट जेठ २० गतेसम्म हुँदै छ। मन्त्री साउदले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई लिएर मंगलबार भारत भ्रमणका क्रममा नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने बताए। उनले भ्रमणका क्रममा व्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात सम्बन्ध, भौतिक पूर्वाधार विकास, आर्थिक सहयोगलगायतका मुद्दालाई अगाडि बढाउने प्रतिबद्धता जनाए।
मन्त्री साउदले सरकारले भारतसँग गरेका सम्झौताको पूर्ण कार्यान्वयन नहुने गरेको भन्दै यस भ्रमणमा भने सम्झौता गरेका कुराको पूर्ण कार्यान्वयन हुने ग्यारेन्टी गरे। उनले कार्यान्वयनको सुनिश्चित गर्न नसके भ्रमणमा भएका सम्झौताको कुनै अर्थ नरहने भन्दै भारतसँग बढाइएका एजेन्डाहरूको पूर्ण कार्यान्वयन हुने अपेक्षा रहेको बताए।
प्रधानमन्त्री दाहालको भारत भ्रमणमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल जानेछन्।