१७ जेठ काठमाडौ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनैसुनले ढाकिएको देखिने गरी आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिएको गुनासो गरेका छन्। औँठी लगाउने रुचिसमेत नभएको मान्छेलाई जिउभरि सुनैसुनले डाकिएको फोटो सामाजिक सञ्जालमा ट्रोल गरेर झुटको खेती गरेको भन्दै उनले आपत्तिसमेत जनाएका छन्।
बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी प्रवेश गरेका कलाकारहरूलाई स्वागत गर्दै अध्यक्ष ओलीले आफूले आमा बित्दा र एकपटक साथीले दिएको औँठी केही समय लगाएको तर त्यसबाहेक आफूले सुनको औँठी नलगाएको पनि पटक-पटक बताए।
आफ्नो सुनैसुनले ढाकेको आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिनु आपत्तिजनक रहेको बताए। आफूसँग भएको ज्ञान, कला र क्षमताको दुरुपयोग गरेर यस्तो खालको गतिविधि गरिनु मुलुकका लागि दुःखको कुरा भएको पनि अध्यक्ष ओलीले बताए।
उनले पार्टीमा प्रवेश गरेका कलाकारहरूलाई राष्ट्र निर्माणको अभियानमा क्रियाशील गराउने पनि बताए। एमालेले मुलुकको समृद्धिको अभियान सञ्चालन गरेको र त्यसमा सबैलाई सहभागी गराएर लैजाने उनले बताए।