Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल भारतबीच सात सम्झौतामा हस्ताक्षर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल भारतबीच सात सम्झौतामा हस्ताक्षर

जोईन खबर

१८, जेठ २०८०
  • 628
    SHARES
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल भारतबीच सात सम्झौतामा हस्ताक्षर

    १८ जेठ काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा बुधबार साँझ भनेका थिए, ‘भोलि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग महत्वपूर्ण सम्झौताहरुमा हस्ताक्षर गर्दैछु ।’यथार्थमा उनी त्यस बेलासम्म कुनै महत्वपूर्ण सम्झौताको टुंगो लगाउनेमा पुगिसकेका थिएनन् ।भारतका राष्ट्रिय सुरक्षा सल्लाहका अजित डोभल र विदेश सचिव विनयमोहन क्वात्रासँग चाणक्यपुरीमा भएको भेट प्रचण्डको प्रतिकुल हुन पुगेको थियो । 

    images

     प्रचण्ड यसपल्ट कुनै हालतमा पञ्चेश्वर परियोजना अगाडि बढाइछाड्नेमा थिए । अढाई दशकअघि महाकाली सन्धि गर्ने नेपाली नेतृत्वले जनतासँग गरेका आवधिक बाचाहरु अलपत्र परेको अनुभवबाट प्रचण्ड रणनीतिक फाइदा लिँदै आफ्नो हात माथि पार्न चाहन्थे । 

    एयर रुटको अवरोध पन्छाउँदा मात्रै पनि उनको भ्रमण सफल भएको मान्न सकिन्थ्यो ।अन्तर्राष्ट्रिय उडानका लागि सिमरामाथिको आकाशबाट प्रवेश गर्दा असाध्यै घुमाउरो पर्ने भएकाले नेपाली पक्ष भैरहवा वा नेपालगञ्जबाट रुटका लागि भारतीय स्वीकृति चाहन्थ्यो । भारत त्यसमा पनि टसमस हुन खोजेन ।

    फुकोट कर्णाली परियोजनामा छिर्न भारतीय कम्पनी एनएचपिसी लगानी गर्न तयार भयो । यसले प्रचण्डलाई अघि बढ्न त्राण दियो । नेपाल भारतबीच उर्जाको क्षेत्रमा, अनि बाणिज्य र कनेक्टिभिटीका लागि भएका छलफल त्यसै अनुरुप सकारात्मक बन्न पुगे । बंगलादेशलाई भारतीय ग्रिड हुँदै ४० देखि ५० मेगावाटसम्म बिजुली बेच्न दिन भारत सकारात्मक छँदै थियो, यो पनि अघि बढ्ने भयो ।

    उच्च स्रोतका अनुसार अजित डोभल र क्वात्राले अप्ठेरो पारेको माहोललाई मोदी स्वयंले खुकुल्याए । यसका लागि भूमिका खेले, प्रधानमन्त्रीका प्रिन्सिपल सेक्रेटरी प्रमोदकुमार मिश्रले ।

    केही वर्षअघिसम्म मोदीको सचिवालयमा सर्वेसर्वा डोभलका ठाउँमा पिके मिश्र भनेर चिनिने प्रमोदकुमार मिश्रको उपस्थितिले काम गर्न थालिसकेको छ ।

    भेटघाटअघि मोदीसँग तस्वीर खिचाउँदा दुवै प्रधानमन्त्रीका हात बाँधिएका थिए, मुखचाहिँ चलिरहेका । मोदीसँगको संयुक्त बैठक, अनि एक्लाएक्लै बैठकको समग्र सार पनि यस्तै रह्यो । 

    शब्दहरुमा जे प्रकट होस्, सारमा भने नेपालले यो बीचको अवधिबाट के पायो, अनि जारी प्रचण्ड भ्रमण क्रममा त्यसको प्रकटीकरण कसरी भयो भनेर विवेचना गर्नैपर्ने हुन्छ । स्वयं प्रचण्डले मोदीपछि बोल्ने क्रममा सकारात्मक र कृतज्ञ भावमा अंग्रेजी वाक्यहरु बाचन गरेपनि त्यसमा स्वतस्फुर्तताको मात्रा कम देखिन्थ्यो ।

    दुवै प्रधानमन्त्रीको प्रस्तुति, अनि यसअघि नेपालका लागि भारतीय राजदूत तथा हाल भारतीय विदेश सचिव रहेका विनयमोहन क्वात्राको प्रेस मिटबाट बुझ्न सकिन्थ्यो, अब नेपाल भारत सम्बन्ध विगतमा झैं राजनीतिक एजेन्डाहरुमा होइन, उद्योग वाणिज्य, उर्जा र पर्यटन आदिमा विषयान्तर हुन चाहन्छ ।

    भारतसँग विद्युत व्यापारको प्रारम्भिक सम्झौता, कर्णाली फुकोट आयोजनामा भारतीय कम्पनीको प्रवेश, भैरहवा विमानस्थलमा हाललाई इन्स्ट्रुमेन्टल ल्यान्डिंग सिस्टम चलाउने, न्यु बुटवल गोरखपुर प्रसारणलाइन शिलान्यास लगायत सात सम्झौतामा हस्ताक्षर भने यो भ्रमणलाई अर्थपूर्ण बनाउने सन्दर्भ बन्न गएका छन् । 

    भ्रमण अझै दुई दिन बाँकी छ । उनी इन्दोर र उज्जैनका लागि भोलि बिहान प्रस्थान गर्नेछन् । यद्यपि प्रधानमन्त्रीका रुपमा प्रचण्डको चौथो भारत भ्रमणको मूख्य पाटो भने दिल्लीको हैदरावाद हाउसमै टुंगो लागिसकेको छ ।

     

    प्रकाशित मिति :जेठ १८, २०८० बिहिवार - २३:१३:३५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको