२० जेठ काठमाडौ । माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले भ्रष्टाचारविरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।
विकास र समाजको लोकतान्त्रिकरणको प्रक्रियालाई अगाडि बढाउन भ्रष्टाचार घातक रोगका रूपमा देखा परेको उल्लेख गर्दै पार्टी स्कुल विभाग प्रमुखसमेत रहेका पोखरेलले भ्रष्ट मानसिकताविरुद्ध सबैतिर सङ्घर्ष गर्न जरुरी रहेको औँल्याएका छन् ।
नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति खोटाङले शुक्रबार दिक्तेलमा आयोजना गरेको माध्यमिक तहको दुई दिने पार्टी स्कुल कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पोखरेलले प्रधानमन्त्री दाहालको भारत भ्रमणलाई सद्भावना भ्रमणको अर्थमा बुझ्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । प्रधानमन्त्रीको भ्रमणलाई धेरै हौसिने वा नकारात्मक ढङ्गले प्रस्तुत नगर्नसमेत उनले आग्रह गरे ।
दश वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न पार्टी तथा सरकार लागिपरेको उनको भनाइ छ ।
पार्टी स्कुल कार्यक्रमलाई प्रविधिसँग जोडेर अगाडि बढाउनुपर्ने उहाँले बताए । ‘पछिल्लो समय सामाजिक सञ्जाल हेरेर नेता तथा कार्यकर्ताले आफ्नो अवधारणा बनाउने गरेका छन् ।
सो अवसरमा अनुशासन आयोगका अध्यक्ष एवं पूर्वसांसद टङ्क राई, बाम विश्लेषक एवं पूर्वसांसद हरि रोका, संविधानसभा सदस्य एवं माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य दुर्गाजयन्ती राई, डाक्टर धनप्रसाद सुवेदी, ध्रुव श्रेष्ठ, रमेश सुनुवार र रामदीप आचार्यलगायतले सहजीकरण गरिरहेका छन् ।
जिल्ला समन्वय समितिको सभाहलमा जारी कार्यक्रममा पार्टीको जिल्ला समन्वय समिति, स्थानीय तहका पार्टी प्रमुख तथा प्रतिनिधि, पार्टीबाट निर्वाचित दश वटै स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता छ । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रम समापनपछि सहभागी नेता तथा कार्यकर्ताले आ–आफ्नो क्षेत्रमा गएर पार्टी स्कुल कार्यक्रम सञ्चालन गर्नुपर्ने जनाइएको छ ।