३१ जेठ काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत भएकाले कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पार्नुभएको छ । बिहान पूर्व शिक्षामन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का दिवङ्गत नेता डिआर पौडेलको चौथो स्मृति दिवसका सन्दर्भमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्मृति कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनुभएको छ ।
भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्छ, कहीँ सम्झौता हुँदैन, झुकिँदैनपूर्वमन्त्री पौडेलको स्मरण गर्दै उहाँले भन्नुभयो, “उहाँलाई जनताको बीचमा स्थापित गराउन मैले शिक्षामन्त्रीको जिम्मेवारी दिएको थिएँ। उहाँले आफ्नो जिम्मेवारीमा राम्रो पनि गर्नुभयो। डिआरको आकस्मिक निधनबाट पार्टीलाई अपूरणीय क्षति भएको छ ।नयाँ परिस्थितिमा कम्युनिष्ट आन्दोलन अगाडि बढाउनेमा छौँ । हामी समाजवादी मोर्चा बनाउँदछौँ ।
प्रधानमन्त्री प्रचण्डले आन्दोलनका उपलब्धिहरूमाथि प्रहार भइरहेको छ । लोकतान्त्रिक भनिएका शक्तिहरू अलोकतान्त्रिक र निकृष्ट व्यवहारमा उत्रिएका छन् । कम्युनिष्टहरू मात्रै इमानदार र सक्षम हुन्छन् भन्ने पुष्टि गर्नु छ, तसर्थ सरकारको मोर्चालाई सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा अधिकतम सदुपयोग गर्नुपर्छ ।कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, महासचिव देव गुरुङ, उपमहासचिवहरू हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल लगायतका नेताहरू हुनुहुन्थ्यो ।