१असार काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जातिहरुलाई फुटाएर राष्ट्रको हित नहुने बताउनुभएको छ । भूमे पर्वको अवसरमा नेपाल मगर संंघद्वारा खुल्लामञ्चमा आयोजित सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले जनगणनामा भएको जातिहरु बारेका विषयमा स्पष्ट गर्ने र आवश्यक कुरा सच्याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘मानिस र प्रकृतिको बीचको सम्बन्ध कसरी सुरक्षित राख्ने र कसरी संरक्षण गर्ने भन्ने उद्देश्यसहित यस्ता पर्वहरु मनाउने गरिएको हो । मगर समुदाय मात्र नभई आदिवासी जनजाति सबैले नै प्रकृतिको पुजा गर्ने संस्कार छ । प्रकृतिको पुजा एउटा समुदायमा मात्रको सिमित छैन ।
प्रकृतिलाई विनाश हुन नदिन र जलवायुको संरक्षण गर्ने कुरासँग सिङ्गो प्रकृति र मानिसबीचको अन्तरसम्बन्धलाई कायम गर्ने उद्देश्यद्वारा प्रेरित रहेको उहाँको धारणा थियो ।प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘मैले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिकताका निम्ति आन्दोलन गर्दैगर्दा हिजोका राज्य संयन्त्रद्वारा सबै जातजाति, भाषाभाषी, वर्ग समुदाय अपमानित, उत्पीडन र विभेदमा पारिएका थिए । ती सबैलाई साथमा लिएर नै ठूलो आन्दोलनको सृष्टि भएको हो ।